सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणमा जाँदै, द्विपक्षीय सम्बन्ध र राजनीतिक अनुभव आदानप्रदानमा केन्द्रित रहने

सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणमा जाँदै, द्विपक्षीय सम्बन्ध र राजनीतिक अनुभव आदानप्रदानमा केन्द्रित रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) पाँचदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन को निमन्त्रणामा हुने उक्त भ्रमण जेठ १८ गतेदेखि २२ गतेसम्म चल्ने बताइएको छ।

रास्वपाले सार्वजनिक गरेको जानकारीअनुसार सभापति लामिछानेको भ्रमणका क्रममा भारतका विभिन्न राजनीतिक नेतृत्व, नीति निर्माता तथा सम्बन्धित पक्षसँग भेटघाट तथा छलफल हुने कार्यक्रम रहेको छ। भ्रमणका दौरान नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, सुशासन, विकासका अनुभव तथा दुई देशबीचको आपसी सहकार्यका विविध विषयमा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

पार्टीका अनुसार भ्रमणले नेपाल र भारतबीचको राजनीतिक तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, दक्षिण एसियाली क्षेत्रीय राजनीति, आर्थिक सहकार्य तथा लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणका विषयमा समेत छलफल हुने सम्भावना रहेको बताइएको छ।

रास्वपाले पछिल्लो समय अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा विभिन्न देशका राजनीतिक दलहरूसँग अनुभव आदानप्रदानलाई प्राथमिकतामा राख्दै आएको छ। सोही क्रममा सभापति लामिछानेको भारत भ्रमणलाई महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउन तथा दुई देशका राजनीतिक दलहरूबीच आपसी समझदारी र सहकार्य विस्तार गर्न सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। भ्रमण सम्पन्न गरी सभापति लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।