यल नेवाः समाजद्वारा दुईदिने ‘यल नेवाः महोत्सव–११४६’ सम्पन्न ll Shahar Ko Khabar ll

यल नेवाः समाजद्वारा दुईदिने ‘यल नेवाः महोत्सव–११४६’ सम्पन्न ll Shahar Ko Khabar ll

यल नेवाः समाजले दुई दिने ‘यल नेवाः महोत्सव–११४६’ आयोजना गरेको छ । ललितपुर महानगरपालिका १६ वडाको सहयोगमा शुक्रबार र शनिबार महोत्सव आयोजना गरिएको थियो । ललितपुर महानगरपालिका १६ वडाले स्थानीय ठाउँको विकास, नेपालभाषा र नेपाली संस्कृतिको विकास तथा संरक्षणको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यसै क्रममा ललितपुर महानगरपालिका १६ वडाको सहयोगमा दुई दिने यल नेवाः महोत्सव आयोजना गरिएको छ । कार्यक्रममा बागमती प्रदेश स्तरमा नेपालभाषाको प्रयोग बारे पनि छलफल गरिएको थियो ।

महोत्सवको पहिलो दिन सहभागीहरूले परम्परागत सांस्कृतिक बाजासहित मंगलबजारमा भेला भइ ललितपुर परिक्रमा गरेका थिए । महोत्सवमा स्थानीय समुदायको मौलिक तथा परम्परागत पेशा, कला, रीतिरिवाज र संस्कृति, खाद्य वस्तु, हस्तकला, धार्मिक तथा सांस्कृतिक वस्तुहरू, विभिन्न समुदायका परम्परागत सीप र पेशाहरू प्रदर्शन गर्न स्टलहरू राखिएको थियो । ललितपुरका विभिन्न जातीय तथा धार्मिक संस्थाहरूले पनि महोत्सवमा विभिन्न वस्तुहरू प्रदर्शन गरेका थिए । बौद्ध विहार संघ, ताम्राकार समाज, नेमकुल समाज, नकर्मी समाज, स्यस्यः समाज, चित्रकार समाज, बाराही समाज, राजकर्णिकार समाज, सिकर्मी समाज, राजोपाध्याय समाज, शिल्पकार समाज लगायतले महोत्सवमा भाग लिँदै विभिन्न परम्परागत सामाग्रीहरू प्रदर्शन गरेका थिए ।

महोत्सवको उद्घाटन गर्दै ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मल रत्न शाक्यले यस्तो महोत्सवले नेपाली समुदायको एकता, सामूहिकता र सहयोगको भावनासहित कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । समाजका अध्यक्ष नानिकाजी शाक्यले ललितपुरका एक्काइस वटा जातीय समाजलाई एकताबद्ध गरेर गठन गरिएको यल नेवाः समाजले समन्वय, सहयोग र साझा भावनाका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए । समाजका महासचिव संजय शर्मा राजोपाध्यायले ललितपुर महानगरपालिकाको बजेट, नीति र कार्यक्रममा ललितपुरका सबै जातीय समाजको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । महोत्सवको दोस्रो दिन बागमती प्रदेशमा नेपालभाषाको प्रयोग सम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको थियो । छलफलमा नेवाः देय् दबूका महासचिव श्रीकृष्ण महर्जन, नेपालभाषा मंकाः खलः यलका पूर्व अध्यक्ष तथा गुथि संस्थानका पूर्व प्रमुख प्रशासक किरण शाक्यले कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो दिन नयाँ तथा पुराना कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।