काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) को ओपीडी सेवालाई थप प्रभावकारी, आधुनिक तथा बिरामीमैत्री बनाउन रु १ करोड ७० लाखभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ।
अस्पतालमा आयोजित एक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो। महानगरपालिकाले सार्वजनिक खरिद प्रक्रियामार्फत रु १ करोड ७० लाख १६ हजार ६७० लागतमा खरिद गरिएका उपकरण अस्पताललाई उपलब्ध गराएको जनाएको छ।
महानगरले अस्पताललाई १६ वटा इन्ट्याक्टिभ किओस्क मेसिन र ६५ वटा अल-इन-वन डेस्कटप कम्प्युटर उपलब्ध गराएको छ। किओस्क मेसिनमार्फत बिरामीले शुल्क भुक्तानी गर्न, रिपोर्ट प्रिन्ट गर्न तथा उपचारका लागि आवश्यक रकम घरबाटै जम्मा गर्न सक्नेछन्। त्यस्तै, डेस्कटप कम्प्युटरमार्फत report, परीक्षण तथा उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गरिएको छ। अस्पतालको डिजिटल प्रणालीलाई थप सक्षम बनाउन सर्भर तथा र्यामको क्षमतासमेत विस्तार गरिएको छ।
उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले सरकारी अस्पतालमा सेवा लिन आउने बिरामी र तिनका आफन्तले लामो लाइन बस्नुपर्ने तथा शुल्क तिर्न घण्टौँ समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्न महानगरपालिकाले सहयोग गरेको बताउनुभयो। उहाँले प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवालाई छिटो, सहज र व्यवस्थित बनाउन सकिने भएकाले अस्पतालसँग सहकार्य गरिएको स्पष्ट पार्नुभयो।
अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यले महानगरपालिकाबाट प्राप्त सहयोगले अस्पतालको सेवा व्यवस्थापनमा महत्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पहिलो चरणको सहयोगबाट सेवाग्राहीले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने परिवर्तन सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा थप सहकार्यको अपेक्षा रहेको बताउनुभयो।
“बिरामी र उहाँका आफन्त उपचारको तनावमा हुन्छन्। यस्तो अवस्थामा टिकट काट्न, पैसा तिर्न वा रिपोर्ट लिन थप सास्ती भोग्न नपरोस् भन्ने उद्देश्यले हामीले यो सहयोग उपलब्ध गराएका हौँ,” डंगोलले भन्नुभयो। उहाँले महानगरपालिकाले स्वास्थ्य, शिक्षा, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर लगानी गरिरहेको उल्लेख गर्दै अस्पतालसँगको सहकार्यलाई विशेष महत्व दिएको बताउनुभयो।