चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सांसद अमरेश कुमार सिंहको अनुपस्थितिले पार्टीभित्र र विशेषगरी मधेश प्रदेशका प्रतिनिधिमाझ चर्चा बढाएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले उनको अनुपस्थितिबारे विभिन्न तहमा जिज्ञासा व्यक्त गरिरहेका छन्।
अमरेश निकट स्रोतका अनुसार उनले आगामी राजनीतिक परिस्थिति र सम्भावित घटनाक्रमलाई ध्यानमा राख्दै रणनीतिक रूपमा महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको हुनसक्छ। यद्यपि, यस विषयमा प्रत्यक्ष प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेको छैन।
लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेका अमरेश गत माघ ५ गते जनकपुरमा आयोजित विशेष कार्यक्रममा रास्वपा प्रवेश गरेका थिए। त्यसयता उनले संसद्मा सरकारको कार्यशैली, बजेट र मधेशका मुद्दामा खुलेर आलोचनात्मक धारणा राख्दै आएका छन्।
जेठ महिनामा प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मधेशमा जनअसन्तुष्टि बढ्दै गएको चेतावनी दिएका थिए। साथै, सरकारले प्रस्तुत गरेको बजेटलाई अव्यावहारिक र कार्यान्वयनमा चुनौतीपूर्ण रहेको टिप्पणी पनि गरेका थिए। संविधान संशोधनको बहसका सन्दर्भमा समेत उनले वर्तमान राजनीतिक व्यवस्थामै संकट देखिएको धारणा सार्वजनिक गरेका थिए।
यस्ता अभिव्यक्तिका बीच रास्वपाको महाधिवेशनमा उनको अनुपस्थितिलाई सामान्य रूपमा नहेरी राजनीतिक संकेतका रूपमा विश्लेषण गर्न थालिएको छ। विशेषगरी मधेश क्षेत्रमा यसले नयाँ राजनीतिक बहस र उत्सुकता सिर्जना गरेको देखिन्छ।