लगातार दोस्रो जितसँगै नेपाल महिला क्रिकेट सेमिफाइनलमा प्रवेश

लगातार दोस्रो जितसँगै नेपाल महिला क्रिकेट सेमिफाइनलमा प्रवेश

काठमाडौँ, जेठ १४ गते । मलेसियामा जारी एसियन गेम्स महिला टी–२० क्रिकेट छनोटअन्तर्गत नेपालले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको समूह ‘बी’ को खेलमा नेपालले इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो ।

इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कप्तान इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ४२ रन बनाइन् । ४३ बलको सामना गरेकी उनले ५ चौकाको मद्दतमा महत्वपूर्ण इनिङ खेलेकी हुन् ।

त्यसैगरी सोनी पाख्रिनले २९ रन, कविता कुँवरले १४ रन र सीता रानामगरले ६ बलमा नटआउट १३ रनको योगदान दिँदै नेपाललाई जित दिलाउन सहयोग गरेकी थिइन् ।

इन्डोनेसियाका बलरहरूले कडा प्रतिस्पर्धा गरे पनि नेपालले लक्ष्य पछ्याउने क्रममा संयमित ब्याटिङ प्रदर्शन गरेको थियो । इन्डोनेसियाका सुवान्देवी र काइदे अरियानीले २–२ विकेट तथा लक्ष्मी परमिथा र न्योमन मेप्रियानीले १–१ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो । टोलीकी कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रनको महत्वपूर्ण इनिङ खेलिन् । निलु केतुत वेसिका रतना देवीले २३ रन तथा नि मादे पुत्री सुवानदेवीले १३ रन जोडिन् ।

नेपालका लागि बलिङतर्फ मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिइन् भने रिया शर्माले १ विकेट हात पारिन् ।

यसअघि पनि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । लगातार दुई जितसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘ए’ मा भने हङकङ, मलेसिया र थाइल्यान्ड प्रतिस्पर्धामा छन् ।

नेपाल महिला क्रिकेट टोलीको यो प्रदर्शनले छनोट चरणमा बलियो उपस्थिति जनाउँदै पदक सम्भावनालाई अझ मजबुत बनाएको छ ।