काठमाडौं महानगर–२३ को साप्ताहिक सांस्कृतिक कार्यक्रम सम्पन्न ll Shahar Ko Khabar ll

काठमाडौं महानगर–२३ को साप्ताहिक सांस्कृतिक कार्यक्रम सम्पन्न ll Shahar Ko Khabar ll

काठमाडौं महानगरपालिका २३ वडाले स्थानीय प्रतिभा प्रदर्शन गर्न साप्ताहिक सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । सात हप्ताको कार्यक्रम पछि आइतबार साप्ताहिक सांस्कृतिक कार्यक्रमको समापन गरिएको छ। काठमाडौं उपत्यकाका युवा पुस्तामा सांस्कृतिक चेतना आउँदैछ । यस सांस्कृतिक जागरणको क्रममा, युवा पुस्ताले परम्परागत वाद्यवादन र संगीतलाई नयाँ तरिकाले अगाडि बढाइरहेको छ । यसका साथै युवा पुस्ताले परम्परागत लोकनाच र लोकसंगीत सिकिरहेका छन् । युवापुस्ताले सिकिरहेको संगीत र नृत्य प्रदर्शन गर्ने प्लेटफर्मको अभावलाई ध्यानमा राख्दै, काठमाडौं महानगरपालिकाको २३ वडाले गएको सात हप्ता अगाडिदेखि हरेक हप्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेको थियो ।

कार्यक्रममा २३ वडाभित्रका १०० भन्दा बढी युवा पुस्ताले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने यहाँका युवाहरुको सांगीतिक समूह सुरभिषाले पनि प्रस्तुति दिएका थिए । सांस्कृतिक कार्यक्रमको क्रममा २३ वडाका स्थानीयहरूले तयार पारेका हस्तकला तथा घरेलु उत्पादनहरूको विक्री वितरणको लागि स्टलहरु राखिएको थियो । त्यस्तै कार्यक्रममा नेवाः परम्परागत परिकार स्टलहरू पनि राखिएको थियो । युवा पुस्तालाई आफ्नो प्रतिभा प्रदर्शन गर्न आयोजना गरिएको साप्ताहिक सांस्कृतिक कार्यक्रमको समापन आइतबार बसन्तपुरमा गरिएको थियो ।

समापन कार्यक्रममा पनि २३ वडाका स्थानीय बासिन्दाहरूले तयार पारेका विभिन्न घरायसी उत्पादन, हस्तकलाका सामान तथा नेपाली खानाका स्टलहरू राखिएको थिए । कार्यक्रममा सुरभिषालगायत २३ वडाका कलाकारहरूले चर्या नाच र लोकनाच प्रस्तुत गरेका थिए । कामपा २३ वडाका अध्यक्ष मचाराजा महर्जनले यहि जेठ २३ गते राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमा सहभागीहरू सबैलाई प्रमाणपत्र र प्रशंसापत्र प्रदान गरिने बताउनु भएको छ ।