राष्ट्रिय चलचित्र पुरस्कार २०८३ वितरण, मदनकृष्ण श्रेष्ठ दीर्घ साधना सम्मानबाट सम्मानित

राष्ट्रिय चलचित्र पुरस्कार २०८३ वितरण, मदनकृष्ण श्रेष्ठ दीर्घ साधना सम्मानबाट सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय चलचित्र पुरस्कार २०८३ तथा विभिन्न सम्मान प्रदान गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली चलचित्र क्षेत्रका कलाकार, चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई विभिन्न विधाका पुरस्कार र सम्मान प्रदान गरिएको हो।

समारोहमा नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन तथा योगदानको कदर गर्दै वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ लाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ। उक्त सम्मानसँगै उनलाई तीन लाख ७५ हजार रुपैयाँ नगदसमेत प्रदान गरिएको थियो।

यस वर्ष ‘उनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएको छ। सोही चलचित्रका निर्देशक नवीन चौहान उत्कृष्ट निर्देशक र अभिनेत्री मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। चलचित्र ‘परान’ का लागि नीर शाह उत्कृष्ट अभिनेताको पुरस्कारबाट सम्मानित भए।

उत्कृष्ट लेखकतर्फ दीपक प्रसाद आचार्ययम थापा पुरस्कृत भए। चलचित्र ‘कोशेढुंगा’ का लागि बाबु श्रेष्ठ उत्कृष्ट छायाङ्कन तथा नहकुल खड्का उत्कृष्ट सम्पादन विधामा सम्मानित भए। नेपाल भाषाको चलचित्र ‘इन्दिरा धिमे माइचा’ उत्कृष्ट आदिवासी चलचित्र घोषित गरिएको छ।

जुरी प्रोत्साहन पुरस्कार अभिनेत्री आना शर्मा (रमिताको पिरती) र अभिनेता विमोचन दवाडी (झरी पछिको इन्द्रेणी) लाई प्रदान गरिएको छ। विशेष चलचित्र पुरस्कार ‘नाक्छोङ’ का लागि ज्योतिराज राई लाई प्रदान गरिएको थियो।

समारोहमा चलचित्र प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, निर्माता तथा प्रदर्शक डा. सिंह गुरुङ, पत्रकार प्रकाश सुवेदी, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा, अभिनेत्री एञ्जिला सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता विनोद सेरचन तथा प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे लाई सम्मान गरिएको थियो।

पत्रकार स्वर्गीय दिनेश सिटौला लाई मरणोपरान्त सम्मान प्रदान गर्दै ५० हजार रुपैयाँ नगदसमेत प्रदान गरिएको छ।

कार्यक्रममा देविका बन्दनानरहरी प्रेमी ले सांगीतिक प्रस्तुति दिएका थिए। समारोहमा चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।